Logo

विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति: पौडेल



फायल तस्बिर

तनहुँ, ४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन् ।

तनहुँको भानु नगरपालिका-३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगे पनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गरेका छन् ।

गाउँमा सबै सुविधा पुगे पनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उनको भनाइ थियो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना गर्ने सपना पूरा गराएरै छाड्ने पौडेलले दाबी गरेका हुन् ।

उनले भने, “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचारको जालो तोड्नु छ, साउदी अरबको खाडीमा युवा भौतारिन पर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक छ ।” नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउनका लागि आफू केन्द्रित रहेको बताउँदै त्यसैका कारण जिल्ला आउन नभ्याएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्