काठमाडौँ, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् ।
आइतबार विश्वेश्वर महादेव मन्दिर पुन: निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विकासको नाममा संरचना भत्काउन नहुने बताए ।
मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । पहिलेका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्ने धारणा राखेका थिए ।
“सहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नुहुँदैन,” उनले भने, “हिजो जुन खालको यो सहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।”







