Logo

‘विकासलाई कमजोर पार्ने कुरामा घरबेटी वा अरु कोही कसैसँग पनि सम्झौता हुँदैन’



काठमाडौँ, २९ पुस । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

आज काठमाडौँका सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा उनले आफूले कसैको दबाब र प्रभावमा नपरि नागरिकका समस्या समाधान गर्ने काममा लाग्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले धेरै सडक बेहाल बनाएका छन् । उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने प्रश्नमा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नराम्रो गर्ने जो कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको बताए ।

प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले त्यसैअनुसार काम हुने उनको भनाइ छ । मन्त्री श्रेष्ठले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए । सरकारलाई भत्किएका र खाल्डा परेका सडक राखिराख्ने छुट अब नरहेको पनि उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदल यात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले देशको राजधानी काठमाडौँका सडकको दुरावस्था हुनु राम्रो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्