झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका(३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताउनुभयो ।
उहाले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाउनुभयो ।
कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २, ३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सघीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित थिए ।