काठमाडौँ, ९ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् ।
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्तरूपमा आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखेका थिए ।
पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
निर्माणमैत्री ऐन, कानुन नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उनले समयसापेक्ष ऐन, कानुन बनाउन नेपाल निर्माण व्यवसायी महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।
भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।