झापा, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेबाट चोरेर लगेको बताएका छन् । झापा शनिश्चरेको शहीद सुखानी पार्कमा आज अपरान्ह आयोजित कार्यक्रममा अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट लगेर उम्मेदवार बनाएको टिप्पणी गरे । ओलीले भने, अरुसँग उम्मेदवार नै छैन, हाम्रो पार्टीबाट तानेर लगेर उम्मेदवार बनाएको व्यक्ति देवराज घिमिरेका साधारण कार्यकर्ता हुन् ।
झापा क्षेत्र नम्बर २ मा अर्जुनधारा नगरपालिका निवर्तमान मेयर हरि राना गठबन्धनका तर्फबाट माओवादी चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् । ओलीले स्वतन्त्रका नाममा वा विभिन्न हाउभाउ गरेर आएपनि भ्रममा नपर्न आग्रह गरे । कोही शंख फुक्दै त, कोही घण्ट बजाउँदै आएका छन्, उनले भने, कपाल पालेर आउन पाइन्छ, लट्टा पालेर आउन पाइन्छ, मुन्द्रा र टप लगाएर आउन पाइन्छ । ओलीले लोकतन्त्रको यो सुन्दर पक्ष हो भने ।
अध्यक्ष ओलीले उम्मेदवार हुनु एउटा कुरा हो, तर रहर लाग्दैमा सांसद हुन नसकिने बताए । उनले एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।







