काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षि दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन्।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसद भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिनु सकारात्मक भएको तर निर्वाचन केन्द्रित बजेट वितरणमुखी विनियोजन गरेकामा आलोचना गरे।
अर्का सांसद हृदयेश त्रिपाठीले योगदानका आधारमा पेन्सन दिने कसरी भन्दै प्रश्न गरे। कृषि क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो किसानमुखी नहुने देखिएको उल्लेख गर्दै उनले सहकारीलाई रु १० करोडसम्मको ठेक्का गर्न दिने व्यवस्था उपयुक्त हुने नदेखिएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले बजेटले मूल्य वृद्धि रोक्न नसक्ने बताए । प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले चुनावमुखी र वितरणमुखी बजेटले जीवन परिवर्तन गर्न नसक्ने जिकिर गर। बजेटको आम्दानीका स्रोत के हुन् भनी प्रश्न गर्दै उनले वैदेशिक सहयोग र ऋणबाट बजेट बनाउँदा कार्यान्वयनको सम्भावना नहुने र परम्परागत बजेट आएकाले स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्नमा जोड नदिइएको बताए।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले जमिनमाथिको वितरण न्यायोचित भएमा मात्र कृषि उत्पादन वृद्धि हुने बताए। प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि जारी छलफलमा उहाँले देशको स्वतन्त्रता, स्वाभिमान र राष्ट्र हितलाई ख्याल गरेर मात्र वैदेशिक सहयोग लिनुपर्नेमा जोड दिए ।
उनले स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने र अपार्टमेन्ट खरिद गर्न विदेशीलाई अनुमति दिन नहुने बताए। उनले महिलामाथिको बढदो हिंसा, बलात्कार रोक्न बजेटमा व्यवस्था नभएकामा ध्यानाकर्षण गराउँदै बलात्कृत महिलाको जीवनयापनको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिए।