काठमाडौँ, २ पुस । नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएका हुन् ।
उनले देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भीर नभएकोप्रति आक्रोशसमेत व्यक्त गरेका थिए ।
अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरुलाई पनि आग्रह गरे । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै रोजगारीको अवसर सृजना गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष श्रेष्ठले भने, ‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर वैदेशिक रोजगारीमा गएकाहरुको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन । त्यस काममा सरकार गम्भीर भएर उनीहरुको समस्या तत्काल समाधान गर्नु पर्दछ ।’