Logo

विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने: विप्लव



काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन् ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले विदेशीहरूको निर्देशनमा नेपालका अर्थतन्त्रहरू निर्माण हुने गरेको दाबी गरेका हुन् ।

उनले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरू आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए ।

महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादभित्र लैजानका लागि रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । नेपालको अर्थतन्त्रको हिसाब गर्दा दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ । ९० प्रतिशत नागरिकरकिसान गरिबीको मारमा धकेलिएका छन् । लाखौँ लाख युवाको शक्ति विदेश लखेटिने वा पलायन हुने अवस्थातिर गइरहेको छ । यो आर्थिक सङ्कटमात्रै होइन राजनीतिक सङ्कटको कारण पनि हो । संसदीय चुनावहरू एकदमै फितला र कमजोर भए । नागरिकलाई रूपान्तरण, परिवर्तनको चाहना छ । यदि नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने हो भने, नेपाललाई स्वाधीन बनाउने हो भने विदेशीहरूले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने, विदेशीहरूको निर्देशनमा यहाँका अर्थतन्त्र निर्माण गरिने अवस्थालाई हटाउनुपर्छ । तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठीवास भएको छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरू जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।’

प्रतिक्रिया दिनुहोस्