काठमाण्डौ, १४ फागुन । विदेशी रक्सीको प्याकेजिङमा प्रयोग हुने करोडाैंका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।
रुपन्देही बुटवलको राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन नहुने विदेशी रक्सीको प्याकेजिङमा प्रयोग हुने ढक्कन तथा सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध पाँच करोड २१ लाख बिगो र जरीवानासहित मुद्दा दायर गरेको हो ।
कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने रक्सीको ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका शशाङ्क खनाल र काभ्रेपलाञ्चोककाे चौरीदेउराली गाउँपाकिा–४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।
प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसूल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो एक करोड ३० लाख २७ हजार तथा र बिगोको शतप्रतिशत रकम जरीवानासहित पाँच करोड २१ लाख नौ हजार र त्यही ऐनको दफा २३(१)(ख) बमोजिम कैद सजायको माग दाबी गरिएको छ ।