
भैरहवा, ८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् ।
गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु सेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने जानकारी दिए ।
अब काठमाडौँमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, काठमाडौँमा समस्या हुँदा ठूला जहाज पनि यही नै अवतरण हुनेछन्’, महाप्रबन्धक दाहालले भने । यो विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण(आईकाओ)ले पनि स्वीकृति दिइसकेको उनको भनाइ छ ।
यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले उडान गर्ने भएको छ । जजिराले हप्ताको तीन दिन उडान गर्ने तालिका तय भएको महाप्रबन्धक दाहालले जानकारी दिए ।
जजिराले सोमवार, बुधवार र शुक्रवार उडान गर्ने उनको भनाइ छ । अरू एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको दाहालले बताए ।







