Logo

विद्यालयका ३ शिक्षकविरुद्ध यौन दुर्व्यवहारको जाहेरी, एक जना पक्राउ



हेटौंडा, २७ चैत्र । मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन् । बालिकाका अभिभावकहरूले विद्यालयका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका हुन् । जाहेरी पछि विद्यालयका शिक्षक हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई प्रहरीले खोजी गरीरहेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन् । निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षक विरुद्ध छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकलाई पक्राउ गर्ने तयारी भइरहेको बताए पनि उनिहरू फरार रहेका छन् । यी तीन शिक्षकहरूले लामो समयदेखि छात्रा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीले विद्यालय तोडफोड गरेका थिए । विद्यार्थीले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन् ।

निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो । घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकले प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन् ।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले छात्रामाथि भएको यस किमिसमको अमानवीय र जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशिलतालाई ध्यानमा राखेर दोषीलाई उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गरिन् ।

विद्यालयमा उनीहरूले निवेदन दिएसँगै विद्यालय व्यवस्थापन समितिले घटनाको विषयमा छलफल गरेपनि पीडित विद्यार्थी शिक्षकलाई कारबाही माग गर्दै तोडफोडमा उत्रिएका थिए । सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंका प्रतिनिधि घटनाको जानकारी लिन घटनास्थलमा समेत पुगेका थिए ।

श्रोतः आइएनएस-स्वतन्त्र समाचार

 

प्रतिक्रिया दिनुहोस्