चीन, ६ माघ । मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए । उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन् ।”
आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए भने राति ११:३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो ।
शुक्रबारको आगलागीबाट बचेका घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ । स्थानीय अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ ।







