काठमाडौँ, ३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उनले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिए ।
उनले ऐन, कानुन तर्जुमा गर्दा कानुन, न्याय तथा संसदीय मन्त्रालय र अर्थ मन्त्रालयबाट छिटो परामर्श प्राप्त हुन नसकिरहेको स्थिति अन्त्यका लागि नीतिगत निर्णय गर्ने सरकारको तयारी भएको जानकारी दिए । उनले प्रधानमन्त्री र विभागीय मन्त्रीले चाहँदा पनि कानुनका फाइल घुमिरहने प्रवृत्तिबाटमाथि उठ्नका लागि ठोस् निर्णय गर्न आवश्यक रहेको बताए ।
उनले विदेशमा शिक्षा आर्जन गरेर त्यहीँ राम्रोसँग क्षमता प्रदर्शन गर्न सक्ने स्थिति भएर पनि देशको माटोले आफ्नो विज्ञता खोजेको छ भनेर प्रतिभावान व्यक्तिलाई त्यस प्रकारको भावना जगाउन सक्नुपर्नेमा जोड दिए ।“शिक्षामा भौतिक संरचना र जनशक्तिको अभाव मात्रै समस्या होइन, समस्याको जरो हाम्रो मानसिकता र सोचमा रहेको छ ।”, मन्त्री राईले भने, “त्यसले गर्दा हामीले समस्याको जडतालाई तोड्न सकेका छैनौँ ।” उनले आवश्यक शिक्षक दिन नसकेसम्म गुणस्तरीय शिक्षाको चुनौतीको सामना गर्न नसकिने बताउँदै शिक्षाको बजेट पर्याप्त विनियोजन नभएकामा गुनासो व्यक्त गरेका थिए ।