काठमाण्डौ, २१ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गर्नु भएको छ ।
एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी निर्देशिका स्वीकृत भएको हो ।
यस निर्देशिकाको कार्यान्वयन भएपछि :
१) सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणालीअन्तर्गत एक अर्कासँग बिरामीका तथ्याङ्क तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।
२) बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुनेछ ।
३) रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार पर्नेछ ।
४) एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुनेछ ।
५) फरक फरक खालका तथ्याङ्क पहिलो पटक मन्त्रालयको नियन्त्रणमा रहने केन्द्रीकृत प्रणालीमा आबद्ध हुँदा स्रोत छरिने र धेरै प्रणाली सञ्चालनको समस्या हट्नेछ ।
६) राज्यको स्वास्थ्य नीति निर्माण र प्राथमिकता तय गर्न तथ्याङ्क सहज प्राप्त गर्न सकिनेछ ।