चितवन, १७ भदौ । चितवनको माडी नगरपालिका-३ धोबहामा विद्युतीय पासोमा परेर एक जनको मृत्यु भएको छ ।
जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।
उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।
“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भने, “महतोलाई भरतपुर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।” उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।







