काठमाडौँ, २० जेठ । आजदेखि विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको छ । यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको जनाइएको छ भने, बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ जनाइएको छ । सो अवधिमा सबै शेयर बिक्री नभए असार ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।