Logo

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ: मन्त्री शर्मा



काठमाडौँ, १८ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।

सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को आज बसेको बैठकमा उनले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गरेकी हुन् ।

यस्तो विपद्का समयमा सरकार मातहतका सञ्चारमाध्यमको विशेष भूमिका र दायित्व रहने भन्दै मन्त्री शर्माले राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निर्देशन दिइन् ।

मन्त्री शर्माले भन्नि, “हुनत: सूचनाको महत्व सधैँ छ यहाँहरुले बुझी नै रहनुभएको छ । तर पनि यस्तो विपद्का बेलामा सम्प्रेषण हुने सही समाचारले विपद् न्यूनीकरणलाई सघाउँछ र भ्रमपूर्ण समाचारले पीडितलाई थप पीडा पुग्नुका साथै उद्धारको कामलाई उल्टो प्रभावित पार्छ । त्यसैले यस्तो बेलामा समाचार सम्प्रेषण गर्दा थप संवेदनशील हुनुपर्छ ।”

सत्यतथ्य र सही समाचारको सम्पे्रषणले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सरकारलाई पनि सहज हुने भन्दै प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहायता पुग्ने र उद्धारकर्मीलाई सहज हुनेगरी सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गरेकी हुन् ।

यस्तो विपद्का बेला पनि कहीँकतै भ्रमपूर्ण र आधारहीन सूचना सम्प्रेषण हुने गरेका र यसबाट विपद्मा परेकाको सहयोग र उद्धारको सट्टा उल्टै भ्रम सिर्जना भई पीडितमा थप पीडा पुग्ने भएकाले यसतर्फ सजग रहन पनि उनले सरकार मातहतका सञ्चारमाध्यमलाई विशेष निर्देशन दिइन् ।

त्यसैगरी भूकम्पपछिको ७२ घण्टा सतर्क रहनुपर्ने समय भनिएकाले सोहीबमोजिम आ-आफ्ना सेवालाई निरन्तर राख्दै नागरिकलाई सूचनाका माध्यमबाट सतर्कता अपनाउने वातावरण निर्माण गर्न उनले निर्देशन दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्