काठमाडौँ, ५ असार । यस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र अन्य समयमा उठेक प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनामा परी छ घाइते र २६ बेपत्ता भएको बताए । साथै ५४ घर पूर्णरुपमा क्षति भएको र थप विवरण आउने क्रम जारी रहेको उनले जानकारी दिए ।
“जेठ ३१ गतेबाट नेपालमा प्रवेश गरेको मनसुन प्रणालीको बढी असर देशको पूर्वी भू-भागमा परेको छ । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा बढी विपद्जन्य घटना भएका छन्”, गृहमन्त्री श्रेष्ठले भने ।
उनले विपद्का घटनामा परी मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तीव्र बनाउने प्रतिबद्धता जनाएका हुन् ।
“असार ४ गते प्रधानमन्त्रीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रमा गयौँ । सङ्खुवासभाको तुम्लिङ्टारबाहेक अन्य स्थानमा मौसम अनुकुल हुँदा हेलिकोप्टर जान सक्ने अवस्था भएन”, उनले भने, “तुम्लिङ्टारबाट घटनाबारे विभिन्न जिल्लाका प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग जानकारी लिइ आवश्यक निर्देशन समेत दिएर काठमाडौँ फर्किएका छौँ ।”
उनले विपद् प्रभावित उल्लेखित जिल्लामा जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, स्थानीय जनसमुदाय र सञ्चारकर्मीको संलग्नतामा खोज तथा उद्धार जारी रहेको जानकारी दिए ।







