Logo

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल मेयरका भाइले आफन्तलाई बाँडे



खोटाङ, १७ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि त्यसका विरोध भएको छ ।

नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याएको २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदिई आफ्नो टोलका आफन्तलाई मात्र वितरण गरेपछि विरोध सुरु भएको हो ।

वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गरे । “म च्यास्मिटारका जनताले दिएको मतले निर्वाचित भएको वडाध्यक्ष हो । वडामा हुने हरेक गतिविधि मसँग जोडिन्छ । त्यसको जस वा अपजस मैले नै लिनुपर्ने हुन्छ”, उनले भने, “नगर प्रमुखको भाइ भएकै आधारमा वडामा आएको योजनामा हस्तक्षेप गर्नु उचित होइन । यसले राम्रो सन्देश गएको छैन । आगामी दिनमा पनि यस्तो हर्कत दोहोरिए सहेर बस्दिनँ ।”

च्यास्मिटारको साविक नौवटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साविकको तीनवटा वडामा मात्र आफूखुसी वितरण गरेको पाइएको छ । साविकको वडा नं ६ भाग्रामा १५, वडा नं ३ सार्पामा पाँच र वडा नं ४ दाल्फुमा दुईवटा वितरण गरेको पाइएको हो । विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताए ।

“विपन्न परिवारका लागि वितरण गर्न भनेर गत असारमै सोलार प्यानल खरिद गरिएको थियो । वडामा ल्याएर वितरण गर्न केही ढिला भएको थियो । सोही अवस्थामा नगर प्रमुख विमला राईज्यूले म आफ्नै गाडीमा हालेर ल्याइदिन्छु है भन्नुभयो । मैले हुन्छ भनेँ”, उनले भने, “सोलार प्यानल लिएर नगर प्रमुख वडा कार्यालयमा आउनुअघि नै उहाँका कान्छा भाइ रोजचन्द्रलगायतका साथीहरू भेला भएर बसेका रहेछन् । गाडीबाट झार्न नै नपाई डोकोमा हालेर लान थालेपछि कुनै प्रतिक्रिया नजनाई घर फर्किएँ ।”

 

प्रतिक्रिया दिनुहोस्