
अमलेखगञ्ज, १९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन् ।
पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरुको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएका हुन् ।
उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रुपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।







