तनहुँ, ७ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन् ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका-६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताए ।
विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखेका थिए ।







