काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेत्रविक्रम चन्द विप्लवसहित उक्त समूहमा रहेका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ताको माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले चन्द समूहसँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग एमालेले आग्रह गरेको छ ।
उनले यदि सरकारले चन्द लगायतका शान्तिप्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन पनि सुझाव दिए ।
भट्टराईले चन्द समूहमा रहेका नेताहरूलाई राजनीतिक दल दर्ता गरेर शान्तिपूर्ण राजनीति गर्ने वातावरण बनाउनुपर्ने बताए ।ललितपुर जिल्ला अदालतले सोमबार चन्दसहितका नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।







