विराटनगर, १ बैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर निर्वाचनमा जाने छुट नभएको बताएका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षलाई स्वागत गर्दा कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नागरिकको मुहारमा खुशी ल्याउनेमा केन्द्रित हुनुपर्ने बताए ।
उनले विरोधीहरु बलिया र संगठित रहेको भन्दै कांग्रेस पनि विभाजित हुन नहुने बताए । ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’उनले भने ।
मतभेद र मनभेदका विषय पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जानुपर्ने भन्दै उनले पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखाको प्रवृत्तिविरुद्ध संघर्ष भने गरिरहने बताए ।