Logo

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन



काठमाडौँ, २ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सरकारले जाँच आयोग गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्वकर्मचारीलाई नबोल्न निर्देशन दिएको हो ।

सोमवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर प्रतिवेदन बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल/अनुमान गर्नु वाञ्छनीय नहुने बताए । उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

प्रवक्ता निरौलाले प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रसारित समाचारहरूबाहेक अरूलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरूलाई विश्वास नगरि प्राधिकरणका सत्य/तथ्य सूचनाहरू जानकारीमा राख्न आग्रह गरे । उनले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘घटना भइसकेपछि छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउँछ । यसमा अरू कसैले पनि घटनाका विषयमा अड्कलरअनुमान गर्नु वाञ्छनीय हुँदैन । यस घटनालाई जोडेर कुनै पनि व्यक्तिले, प्राधिकरणका पूर्वकर्मचारी कसैले नबोल्दा उपयुक्त हुन्छ । यसमा कसैले पनि आफ्नो विज्ञता देखाउनुपर्ने आवश्यकता छैन । जाँच आयोगले घटनाको स्वतन्त्र र निष्पक्ष सत्य/तथ्य बाहिर ल्याउनेछ ।’

प्रतिक्रिया दिनुहोस्