
पोखरा, २ माघ । पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ ले काम सुरु गरेको छ ।
जाँच आयोगले सोमवारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
सरकारले आइतवार दुर्घटनामा परेको यति एअरलाइन्सको विमानको दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन् ।
त्यस्तै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाश प्राप्त उपरथी) र सुनिल थापा (अवकाश प्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।
आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आउँदा दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।






