काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले बलियो प्रदर्शन गर्दै विराटनगर किङ्सलाई ४० रनले पराजित गरेको छ। यस हारसँगै विराटनगरको यात्रा अन्त्य भएको छ भने लुम्बिनी उपाधि भिडन्तका लागि फाइनलमा उक्लिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमै ९४ रनमा समेटियो। सुरुवाती ओभरमै शीर्ष क्रममा रहेका ब्याटरहरू निराशाजनक प्रदर्शन गर्दै पेभेलियन फर्किएपछि विराटनगर खेलमा फर्कन सकेन।
पहिलो ओभरमै मार्टिन गुप्टिल (२) र लोकश बम (०) आउट भएपछि विराटनगर दबाबमा परेको थियो। फाफ डुप्लेसी पनि ३ बल खेल्दै २ रनमा बोल्ट भएका छन्। लगातार विकेट खस्दै गएपछि इनिङ सम्हाल्न आएका साम हिजलेटले २८ बलमा ३४ रनको योगदान दिए। नरेन भट्टले २१ रन जोडे पनि टोलीलाई प्रतिकूल अवस्थाबाट निकाल्न पर्याप्त भएन।
लुम्बिनीका तिलक भण्डारीले घातक बलिङ गर्दै ३ विकेट आफ्नो नाममा गरे। रुबेन ट्रम्पेलम्यानले २ विकेट सहित गुप्टिल र बम जस्ता महत्त्वपूर्ण ओपनरलाई सस्तैमा समाते। शेर मल्लले डुप्लेसीलाई आउट गरे भने जेजे स्मिथ र अभिषेक गौतमले पनि समान २–२ विकेट लिए।
यस जितसँगै लुम्बिनी लायन्स अब उपाधि संघर्षमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ, जसले पहिलो क्वालिफायर जित्दै फाइनलमा प्रवेश गरेको थियो।







