Logo

विराटनगर विमानस्थलको नाममा १४ सय कित्ता रोक्का, मुअब्जाका लागि संघर्ष



विराटनगर, २९ जेठ । सरकारले विराटनगर विमानस्थल बिस्तारका लागि १४ सय कित्ता जग्गा रोक्का राखेर मुअब्जा नदिए पछि पीडितले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । विराटनगर विमानस्थल संघर्ष समितिको तर्फबाट संयोजक वेदराज पौडेल, सदस्यद्वय उद्धव कार्की र सन्तोष खड्काले आइतबार विज्ञप्ति जारी गरी असार ६ गतेदेखि सडक संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

विरानगर विमानस्थललाई क्षेत्रियस्तरको बनाउन सरकारले जिल्ला प्रसाशन कार्यालय मोरंग मार्फत १२६ दशमलव ४६ विगा जग्गाको १४०० कित्ता २०७७ साल चैतदेखि रोक्का राखेको थियो । जग्गा रोक्का राखेर मुअब्जा नदिएको भन्दै संघर्ष समितिले सोमबार जिल्ला प्रसाशन कार्यालय मोरंगमा र्यालीसहित ज्ञापनपत्र बुझाउने र सात दिनभित्र माग पूरा नभए असार ६ गतेदेखि सडक संघर्ष गर्ने घोषणा गरेको छ । मुअब्जा निर्धारण नभइ जग्गा रोक्का राखिएको समितिले विरोध जनाएको छ ।

विज्ञप्तिमा लामो समयसम्म घरसहित जमिन रोक्का हँुदा ३५० परिवार आर्थिक संकटबाट गुज्रनु परेको उल्लेख छ । घर, जमिन रोक्का हुँदा आर्थिक संकटमा खरिदबिक्री, बैंक धितो, अंशबण्डा, धितोपास, नामसारी, घर निर्माण गर्न लगायतका कार्य रोक्का भएकाले संविधानले प्रदान गरेको नीजि सम्पत्तीको अधिकारबाट बञ्चित हुनु परेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सम्पति रोक्का हुँदा छोराछोरी पढाउन, विहेदान गर्न, ब्यापार व्यावसाय गर्नबाट बञ्चित हुनु परेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्