Logo

विराटनगर विमानस्थलमा २७ लाखसहित दुई पक्राउ, स्रोत नखुलेपछि अनुसन्धान सुरु



 विराटनगर, २० वैशाख । विराटनगर विमानस्थलबाट काठमाडौं उड्न लागेका दुई यात्रु स्रोत नखुलेको ठूलो नगद रकमसहित पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट करिब २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

मोरङ प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३:३५ बजे नियमित सुरक्षा जाँचका क्रममा भारतको माल्दा जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अली पक्राउ परेका हुन्। उनी श्री एयरलाइन्समार्फत काठमाडौं जान लागेका थिए। अलीको झोलाबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, अघिल्लो दिन शुक्रबार राति बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेका सुनसरीको धरान–१८ का ३५ वर्षीय दिलिप तामाङ पनि पक्राउ परेका छन्। उनको साथबाट ११ लाख रुपैयाँ फेला परेको छ।

प्रहरीका अनुसार दुवै जनाबाट बरामद गरिएको रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ। ठूलो रकम बोकेर यात्रा गर्दा त्यसको वैध स्रोत प्रमाणित गर्नुपर्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।

नेपालमा नगद बोक्न पूर्ण प्रतिबन्ध नभए पनि असामान्य परिमाणमा नगद भेटिएमा राजस्व छली, हुण्डी कारोबार वा अन्य गैरकानुनी गतिविधिसँग सम्बन्ध हुनसक्ने आशंकामा कडाइ गरिँदै आएको छ। प्रहरीले दुवैको आर्थिक पृष्ठभूमि र रकमको वास्तविक स्रोतबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्