विराटनगर, १६ चैत । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् ।
सहिद रङ्गशालामा फाइनल खेल साँझ ६:४५ बजे हुने छ । लुका सकर पहिलो पटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।
विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।
त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।
गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सह-संयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।