काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकपलाई लक्षित गर्दै टोलीको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको संक्षिप्त भिडियो संवादमा उनले अभ्यास खेलमार्फत टोली अझै धारिलो बनाइरहेको जानकारी दिए।
“तयारी निकै राम्रो भइरहेको छ। हामी अभ्यास खेल खेल्दै लय समात्दैछौँ र विश्वकपका लागि निकै उत्साहित छौँ,” पौडेलले भने।
उनका अनुसार अनुभवी र नयाँ खेलाडीको संयोजनले नेपालको टिमलाई सन्तुलित बनाएको छ। यस विश्वकपमा तीन जना खेलाडी पहिलो पटक सहभागिता जनाउँदैछन् भने सोमपाल कामीले तेस्रो पटक विश्वकप खेल्न लागेकामा टोलीमा उत्साह थपिएको उनले उल्लेख गरे।
२०२६ को विश्वकपमा पुग्ने लक्ष्य पूरा हुँदा अपेक्षा र दबाब दुवै बढेको भन्दै कप्तान पौडेलले टोलीले त्यसलाई सकारात्मक ऊर्जा बनाएर प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
“हामी सबैलाई खुशी बनाउने खेल देखाउनेछौँ। मैदानमा हाम्रो पूर्ण मेहनत रहनेछ र हाम्रो प्रदर्शनले नेपाल र नेपालीलाई गर्व गर्ने मौका दिनेछ,” उनले थपे।







