काठमाडौं, २० माघ । आईसीसी टी–२० विश्वकपको समूह चरण अघि नेपालले आज पहिलो वार्म अप खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। खेल साँझ ५ः१५ बजे चेन्नईस्थित ऐतिहासिक एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ।
यसअघि नेपालले तयारी स्वरूप मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ विरुद्ध दुई अभ्यास खेल जितेको थियो भने श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग खेलेका तीन खेलमध्ये एकमा मात्र सफलता हात पारेको थियो।
नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडाविरुद्ध खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
फेब्रुअरी ७ (माघ २४) बाट भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुने टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ। त्यसपछि माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।






