काठमाडौं, १७ माघ । आइसिसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली राष्ट्रिय टोलीले लगातार दोस्रो अभ्यास खेलमा जित हात पारेको छ। भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार भएको खेलमा नेपालले ४८ रनको फराकिलो जित निकाल्दै उत्कृष्ट लय कायम राखेको हो। यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले सात विकेटको जित दर्ता गरेको थियो।
शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८३ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो। आरिफ शेखले ४२ बलमा अविजित ६६ रनको अर्धशतकीय पारी खेल्दै टोलीको इनिङ्स सम्हाले। सन्दीप जोराले ३१, आशिफ शेखले २५ र गुल्सन झाले २३ रनको योगदान दिए। लोकेश बम र बसिर अहमेदले पनि क्रमशः १५ र ९ रन जोड्दै स्कोरलाई मजबुत बनाए।
१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट–११ को ब्याटिङ लाइनअप नेपालका बलरहरूमाथि दबाब झेल्न सकेन। मुलचन्दनीले सर्वाधिक ४७ रन बनाए पनि टोली २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनमै सीमित रह्यो। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा ललित राजवंशी र गुल्सन झाले दुई–दुई विकेट हात पारे।
यसअघि शुक्रबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले १४३ रनको लक्ष्य १७.२ ओभरमै तीन विकेट गुमाउँदै पूरा गरेको थियो। कप्तान रोहित पौडेलले अविजित ५० रन बनाउँदै जितमा मुख्य भूमिका खेलेका थिए।
अब नेपालले विश्वकपअघि चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरब इमिरेट्स (युएई) र फेब्रुअरी ५ मा क्यानडाविरुद्ध वार्म–अप खेल खेल्ने तालिका छ। भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।
नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको च्याम्पियन इङ्ल्यान्ड, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।







