Logo

विश्वकप क्रिकेट: अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो चार सय रनको लक्ष्य



भारत, ८ कार्तिक । ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकसहित अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई चार सय रनको विशाल लक्ष्य दिएको छ ।

भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ९९ रन बनाएको हो ।

अष्ट्रेलियाका म्याक्सवेलले ४० बलमा शतक बनाएर विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडेका छन् । उनले आज १ सय ६ रन बनाए । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए ।

डेभिड वार्नरले १ सय ४ रन बनाए । वार्नर र स्टिभ स्मिथले तेस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए । नेदरल्याण्ड्स चार सय रनको विशाल लक्ष्य पछ्याइरहेको छ । विश्वकपमा दुवै टोलीको यो पाँचौँ खेल हो । अस्ट्रेलियाले चार खेलमध्ये दुई जित र दुईमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले एउटा मात्र जितेको छ ।

अस्ट्रेलिया चार अङ्कका साथ चौथो र नेदरल्यान्ड्स दुई अङ्कका साथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्