भारत, ८ कात्तिक । अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ ।
बुधबार भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा ९० रन जोड्यो ।
यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक-एक विकेट लिएका थिए । नेदरल्यान्ड्सका विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाए । त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।
म्याक्सवेलले विश्वकप इतिहासमा सबैभन्दा छिटो ४० बलमा शतक बनाए । उनले ४४ बलमा १ सय ६ रन जोडे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेलेका थिए ।