Logo

विश्वकप क्रिकेट आजदेखि: उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्‌ने



भारत, १८ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ ।

यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । विश्वकपको उद्घाटन खेलमा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन् ।

इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । यो विश्वकपका खेलहरू भारतका १० वटा सहर अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।

विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्लादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज भने यस पटक छनोट हुन सकेन । आजदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।

राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् । सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । यस पटकको विजेताले ४० लाख डलर, उपविजेताले २० लाख डलर र सेमिफाइनलमा पराजित हुनेले ८ लाख डलर पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्