भारत, २ कार्तिक । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शानदार जित निकालेको छ ।
गएराति भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हराएको हो ।
न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बल १ सय ३९ रनमा अलआउट भयो । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाएका थिए ।
त्यस्तै अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनर र लाकी फग्र्युसनले समान ३-३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले एक-एक विकेट लिएका थिए ।
त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्स्, टम लाथम र विल यांगले अर्धशतकीय पारी खेले । ग्लेनले ७१, टमले ६८ विलले ५४ रनको योगदान गरेका हुन् । यस्तै, रचिन रबिन्द्रले ३२ रन बनाएका थिए ।
अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २-२ तथा रासिद खान र मुजिब उर रहमानले एक-एक विकेट लिए । न्युजिल्याण्ड शानदार जितसहित शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अङ्क जोडेको छ ।
दोस्रो स्थानमा धकेलिएको भारतको ६ अङ्क छ । २ अङ्क मात्र जोडेको अफगानिस्तान भने पुछार भन्दा माथि छ ।