Logo

विश्वकप क्रिकेट: न्युजिल्यान्डमाथि अस्ट्रेलियाकाे राेमाञ्चक जित



काठमाडौँ, ११ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर आउट भएका थिए ।

यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिएका हुन् ।

यसअघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भएका थिए ।

यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्