Logo

विश्वकप क्रिकेट: भारतले इङ्ल्यान्डलाई हरायो



भारत, १३ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ ।

गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउट भएको हो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोनले सर्वाधिकर २७ रन जोडे । त्यस्तै, डेविड विलीले र डेविड मलानले समान १६-१६ रन बनाए भने मोइन अलीले १५ तथा जोनी बेरिस्टोले १४ रन जोडे । भारतका लागि मोहम्मद शामीले चार विकेट लिए भने जस्प्रित बुमराहले तीन विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको अर्धशतकीय पारी खेले । सूर्यकुमार यादवले ४९, केएल राहुल ३९ र जस्प्रित बुमराहले १६ रन बनाएका हुन् ।

इङ्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । त्यस्तै, क्रिस वोक्स र आदिल राशिदले समान दुई-दुई विकेट लिँदा मार्क उडले एक विकेट लिएका थिए ।

जितसँगै भारतले १२ अङ्क जोडेको छ । अहिलेसम्मका खेलमा अपराजित रहेको भारत ६ खेलमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा छ । १० अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्