काठमाडौँ, ११ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत त्रिकोणात्मक सिरिजमा नामिबियाले ऐतिहासिक जित हासिल गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्याण्ड्समाथि २४ रनको जित निकाल्दै नामिबियाले ऐतिहासिक जित हात पारेको हो । जितका लागि नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३ दशमलव ३ ओभरमा १७९ रनमै अलआउट भएको हो ।
नेदरल्याण्ड्सका नूह क्रुसले अविजित रहँदै सर्वाधिक ४६ रनको योगदान गरे । म्याक्स ओ’डोटले ४१, बास डे लिडेले २४ तथा शिराज अहमदले १९ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नामिबियाका कप्तान जेरार्ड एरास्मस र जान फ्राइलिंकले सर्वाधिक ३-३ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर नेदरल्याण्ड्सले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङको निम्तो पाएको नामिबिया ४१ दशमलव ३ ओभरमा अलआउट हुँदै २०३ रनमा समेटिएको थियो ।
हिजो भएको वर्षाका कारण पिच हिलो भएपछि ढिला गरी शुरु भएको खेललाई ४५ ओभरमा छोट्याइएको थियो । नामिबियाका लागि जन निकोलले सर्वाधिक ४९ रनको योगदान गरे । डेब्यू गरिरहेका मलान क्रुगरले ३९, ज्यान फ्राईलिंकले ३४ रन जोडेका थिए ।
बलिङतर्फ नेदरल्याण्ड्सका भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । आर्यन दत्त र रोलेफ भ्यान डेर मर्वले २-२ विकेट लिँदा शिराज अहमद र बास डे लिडेले १-१ विकेट हात पारेका थिए । जितसँगै नामिबिया ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।