काठमाडौं, १९ मंसिर । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि मूलपानीमा सुरु भएको छ। टिमले आगामी प्रतिस्पर्धाका लागि फिटनेस, ब्याटिङ–बलिङ संयोजन र रणनीतिक तयारीलाई प्राथमिकता दिएको छ।
यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो। सो टोलीमा इन्दु बर्मा, सीता राना मगर, कविता जोशी, रुविना क्षेत्रीसहित अनुभवी खेलाडीदेखि नयाँ प्रतिभासम्म समावेश छन्। बन्द प्रशिक्षणपछि अन्तिम स्क्वाड घोषणा गरिने क्यानले जनाएको छ।
आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने ग्लोबल क्वालिफायरमा १० देश सहभागि हुनेछन्। तीमध्ये शीर्ष ४ टोली सन् २०२६ जुनमा इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।
ग्लोबल क्वालिफायरमा समूह ‘बी’ मा नेपाल बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्दैछ। उता समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे परेका छन्।
विश्वकप यात्राका लागि महत्वपूर्ण मानिएको यो तयारी चरणले नेपाली टोलीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।







