Logo

जोगी डाँडाका मतदाता भन्छन् : विश्वप्रकाशले हामीलाई पानी दिए, अब भोट दिन्छौँ



झापा, २२ कात्तिक । आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति जति नजिकिँदै गयो त्यति नै धेरै उम्मेदवारहरु मतदाताको घर-घरमा पुगेर बुढापाकाको आर्शिवाद तथा युवाको साथ र सहयोगसँगै भोट माग्न व्यस्त छन् ।

यसैबीच झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बू जोगीडाँडामा मत माग्न पुग्दा स्थानीयहरु हातमा फूल बोकेर नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मालाई धन्यवाद दिन आतुर देखिन्थे ।

उनीहरु भन्दै थिए “यस अघिका दुवै निर्वाचनमा उपविजेता भए पनि शर्माले हामीलाई घर-घरमा पानी ल्याइदिएर ठूलो गुन लगाउनु भएको छ हामीलाई तपाईंले पानी दिनु भयो अब हामी तपाईंलाई भोट दिन्छौँ ।”

जोगीडाँडा चतुरेबर खानेपानी संस्थाका संस्थापक अध्यक्ष दिपेश थेबेका अनुसार यस अघि जितेर गएका संसदलाई बारम्बार खानेपानीको समस्या राख्दा पनि आश्वासन मात्र आएको तर दुई पल्ट हारेका विश्वप्रकाशकै पहलमा स्थानीयले शुद्ध खानेपानी खाना पाएको बताए ।

हामीलाई टाढा-टाढासम्म गएर पानी ल्याउनु पर्ने बाध्यता थियो तर विश्वप्रकाशको पहलमा पानी आएसँगै आफूहरुलाई धेरै सहज भएको स्थानीय गोविन्दनारायण प्रधानले बताए ।

यसैबीच स्थानीयको गुनासो सुन्दै धाराको पानी पिउँदै शर्माले जोगीडाँडा चतुरेबर खानेपानी संस्थालाई अझ व्यवस्थित बनाउन आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी स्थानीय १०२ वर्ष वृद्ध भवनाथ गौतमले गठबन्धनका उम्मेवार विश्वप्रकाशलाई आर्शिवाद दिँदै भने यो भन्दा अगाडी थुप्रैलाई जिताएर संसद बनाएर पठायौँ तर भोट माग्न आएको दिन पछि कुनै दिन गाउँमा फर्केर आएनन् जसका कारण गाउँको समस्या जस्ताको त्यस्तै छ तर तपाईंबाट केही आश गरेका छौँ ।

हरेक युवादेखि वुद्धसम्मका लोकप्रिय छवि बनाएका विश्वप्रकाशको उम्मेदवारीले हामीलाई अझै बढी हौसला मिलेको र उहाँलाई जिताउन कुनै कसर बाँकी नछाडने बुद्धशान्ति-४ कांग्रेसका सचिव दिपक शेर्माले बताए ।

यसैबीच, झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । मंगलबार बिहान गठबन्धनका उम्मेदवारले बुद्धशान्ति वडा नं.७ मोदीडाँडाबाट सुरु गरेर धारागोला हुँदै वडा नं.४ को चतुरेबर, खनीगोडा, पिपल चोक हुँदै हापेन चोकमा पुगेर घरदैलो अभियान सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्