मेचीनगर, २९ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं.१ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् ।
यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् ।
गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो ।
झापा क्षेत्र नं १ अन्तर्गत बौद्धमोड, चारआली र इटाभट्टामा कोण सभा सम्पन्न गरिएको हो ।
बौद्धमोडमा आयोजित कोणसभालाई सम्बोधन गर्दै झापा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले चुनावदेखि विरोधी शक्तिहरु डराएको बताए ।
उनले जनताको पक्षमा काम गर्दा पनि आलोचना खेप्नु परेको उल्लेख गरे । ‘म माथि गाली बर्साउने काम भइरहेको छ,’ उनले प्रश्न गरे, ‘कुनै दिनदुःखीलाई सहयोग गर्दा, बेसहारालाई सहारा दिलाउने काम गर्दा मैले के अन्याय गरेँ?’ उनीहरुको आलोचनालाई मैले सहज रुपमा स्वीकारेको छु ।’ उम्मेदवार शर्माले झापा १ ले महामन्त्री मात्र नभएर देशकै नेतृत्व गर्न सक्षम रहेको बताए ।
उनले विजयको अभियानमा सबैको उत्साहका साथ सहयोग प्राप्त भइरहेको बताए । शर्माले राजनीतिलाई बदल्न पनि गठबन्धनको जीत आवश्यक रहेको स्पष्ट पारे । ‘हामीले राजनीतिलाई राम्रो बनाउनु छ । संस्कार बदल्नुछ,’ उनले भने, ‘यसका लागि झापा १ की आमाको कोखबाट जन्मिएको विश्वप्रकाशले देश बनाउने संकल्प गर्दछ ।’
उक्त कार्यक्रममा प्रदेश (क) का उम्मेदवार गोपाल तामाङले परिवर्तनको अनुभूति दिलाउन आफूहरु तयार रहेको बताए । जनताको हरेक समस्या र मागसँग जोडिएको बताउँदै उनले त्यसलाई सम्बोधन गर्न आफूहरु चुनावी मैदानमा आएको स्पष्ट पारे । ‘हामी उम्मेदवार बनेर जित्न मात्र आएका होइनौँ,’ उनले भने, ‘हामी काम गर्न आएका हौँ र एक वर्षभित्र केही न केही गरेर जनतालाई परिवर्तनको अनुभूति दिलाउनेछौँ ।’ उम्मेदवार तामाङले साविक बाहुनडाँगीको समग्र विकासमा संवेदनशील भएर लागेको र लागि रहने वचन दिए ।
नेपाली काँग्रेसका प्रदेश (क) सभापति हरि बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, माओवादी केन्द्र प्रदेश १ कमिटी सदस्य बोधराज दाहाल (असिम), नेपाली काँग्रेस झापाका पूर्व उपसभापति राम कट्टेल, झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, प्रदेश सभाका समानुपातिक उम्मेदवार बालाजित राईलगायतले चुनावी मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, चारआलीमा भएको कोणसभामा संघका उम्मेद्वार शर्मासहित प्रदेश (ख) का उम्मेद्वार श्यामविर लिम्बूले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेशका उम्मेद्वार लिम्बूले प्रदेश खारेज गर्ने भनेर त्यसैमा भोट माग्न आउनेहरुलाई प्रश्न गर्न आग्रह गरे । उनले राजतन्त्र बोकेर हिँड्नेलाई गणतन्त्रबादीहरुले भोटबाटै ठिक पार्नुपर्ने बताए ।
उक्त कार्यक्रमलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता रन्जित तामाङलगायतले सम्बोधन गरेका थिए ।
यता, इटाभट्टामा आयोजित कोणसभालाई उम्मेदवार शर्मा, प्रदेशका उम्मेदवार तामाङ, काँग्रेसका केन्द्रीय सदस्य गोमा भट्टराई, झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार टेकबहादुर लिम्बू, माओवादी केन्द्रका नेता माधव अर्याललगायतले सम्बोधन गरेका थिए ।







