सुन्दरहरैँचा, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय (पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताएका छन् ।
सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाएका हुन् ।
विश्वविद्यालयले सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राख्दै उन ले विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाइले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको उल्लेख गरेका थिए ।
प्रधानमन्त्री दाहालले २१औँ शताब्दीमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर वैकल्पिक स्रोत र साधनको खोजी गरी विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनले लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समन्वय गर्नुपर्नेमा जोड दिए ।