Logo

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ: प्रधानमन्त्री



काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन तथा अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्छ ।”

प्रधानमन्त्री दाहालले अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन स्रोतको सही सदुपयोग नहुने स्पष्ट पारेका थिए । विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्य विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने उनको भनाइ थियो ।

काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्