दार्जुला, ८ पुस । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ ।
दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुआत गरिएको जानकारी दिए ।
“क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैँमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ”, उनले भने ।
डिजिटल कारोबारलाई ‘पारदर्शीताको मेरुदण्ड’को सङ्ज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राखेका थिए ।
सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासका निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।







