
काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका हुन् ।
आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, “मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिए । त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ ।
प्रधानमन्त्री दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, “मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ ।”
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् ।







