कञ्चनपुर, २१ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ ।
सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ । संविधान अनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्नेर्छ ।
रावल नेतृत्वको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउनसकेको छैन । बिना विभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको पनि मन्त्रालय तोकिएको छैन । प्रदेशसभाको सभामुखको निर्वाचनका लागि तेस्रो पटक बोलाइएको बैठकमा नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षीय उम्मेदवारको पक्षमा मत दिन सहमत भएको थियो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए ।
ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ ।
नेकपा (एमाले) का नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले एक दुई दिनमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने बताए ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा सत्तापक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य छन् । बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन् ।







