Logo

विश्व कप क्रिकेट लिग-दुई: अमेरिकासँग नेपालकाे नाटकीय बराबरी



अमेरिका, २९ जेठ । आईसीसी विश्व कप क्रिकेट लिग-दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ ।

नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो ।

२ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा अन्सारीले पाँच रन खर्चेर बराबरी गराए । बराबरीसँगै नेपाल र अमेरिकाले एक-एक अङ्क बाँडेका छन् । अमेरिकाका स्टिभन टेलरले १ सय १४ रनको शतक प्रहार गरेपछि जितउन्मुख भएको थियो । त्यस्तै अमेरिकाका कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि एक दिवसीयमा डेब्यु खेल खेलेका अन्सारीले ३ विकेट लिए ।

सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए । नेपालका लागि रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय पारी खेले । अमेरिकाका रस्टी थेरनले ४, सौरभ नेत्रवालकार र अली खानले २-२ विकेट लिए । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्