Logo

विश्व बैंकले नेपाललाई थप्यो १६ अर्ब सहायता



काठमाडौँ, १३ चैत । विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर)आर्थिक सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको हो । यस चालू आवमा विश्व बैंकले कुल ६५ अर्व २० करोड रुपैयाँको प्रतिबद्धता गरिसकेको छ ।

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ । कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुनेछ ।

यो परियोजनाका लागि विश्व बैंकले १ सय २० मिलियन अमेरिकी डलर सहायता प्रतिबद्धता गरेको हो । यो प्रतिबद्धता अनुदान ऋण हो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमको कार्यान्वयन शिक्षा मन्त्रालयमार्फत भइरहेको छ ।

नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसका अनुसार गुणस्तरीय शिक्षामा लगानी मानव पुँजी विकासका लागि महत्त्वपूर्ण रहेकाले विश्व बैंकले यस्तो सहयोग गर्न लागेको हो । फारिसले भने, ‘यो सहायताले नयाँ शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको लक्ष्यलाई साथ दिन्छ ।’ यसले नयाँ संघीय राज्यको महत्त्वाकांक्षा हासिल गर्न सहयोग हुने अपेक्षा गरिएको छ ।

सहायताले आधारभूत तहमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्न सघाउनेछ । यस्तै, कोभिड– १९ र अन्य महामारीका कारण विद्यालय बन्द हुँदा परेको असर सम्बोधन गर्न, पुर्नरुत्थान तथा गतिशीत सिकाइ योजना कार्यान्वयन गर्न र डिजिटल शिक्षणलाई सुदृढ गर्ने सरकारको कार्यक्रमलाई सहयोग गर्ने बताइएको छ ।

सहायताले बालिका, अपांगता भएका विद्यार्थी र निम्न सामाजिक–आर्थिक अवस्थाका विद्यार्थीमा छात्रवृत्तिका कार्यक्रममार्फत समन्यायिकता हासिल गर्ने लक्ष्य लिएको छ । आजकोअन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्